सूर्य-चन्द्र अंकित-हाम्रो राष्ट्रिय झन्डा

श्रीरामको कविता र पुरानो टुप्पी
खगेन्द्र संग्रौला

घम्साघम्सीको विग्रहकारी राजनीतिमा स्वार्थजन्य मतान्तरको आगो हुर्हुरी बलिरहेछ। र, आगोमा हालै दुईवटा झर्झराउउँदा राँका थपिएका छन्। एउटा राँको न्यायप्रणालीसम्बन्धी नवीन परिकल्पनाको हो, र अर्को राँको हो, राष्ट्रिय झन्डा फेर्ने जिरहको। पहिले पहिलो विषयमै बात मारौँ। यसो सुन्दा न्यायप्रणालीसम्बन्धी यो नयाँ परिकल्पना अनौठो लाग्छ। संविधान बनाउने संसद्ले, न्यायाधीश नियुक्त गर्ने पनि संसदैले र संविधानको व्याख्या गर्ने पनि उही संसद्ले। न्यायप्रणालीमाथिको यो एकल आधिपत्यको परिकल्पना कविताको फाँटमा लागू भए के हुँदो हो भनी मैले गम खाएँ। कविताको परिभाषा गर्ने श्रीरामजी शर्मा, कविता रच्ने पनि उही श्रीरामजी शर्मा र आफूले रचेको कविताको व्याख्या गरी मनमाफिकको अर्थ लगाउने पनि उही श्रीरामजी शर्मा। यस्तो हुँदो हो त कविताको हालत के हुँदो हो? लाग्छ, संस्कृत जान्ने, छन्दका गणहरू बुन्ने र स्वर हल्लाएर सिलोक हाल्न माहिर श्रीरामजीले कविताको सिंगो डबली कब्जा गर्नेछ। र, कविताजगत्मा निज श्रीरामजीको एकल मनपरी अर्थात् राजनीतिको भाषामा खपिनसक्नु तानाशाही कायम हुनेछ। भिन्न चिन्तन, भिन्न शिल्प र भिन्न शैली भएका कविहरू सर्वशक्तिमान् श्रीरामजीको मर्जीबमोजिम पक्राउ पर्नेछन्, सके कुटिने छन् र ती कालरूपी कारागारका निरीह पाहुना बन्नेछन्। विचारको विविधता, विचारको प्रतिस्पर्धा र विचारको गतिमयताको गलो निमोठ्न अरु केही गर्नु पर्दैन, श्रीरामजीका हातको निरङ्कुश कोर्रा नै पर्याप्त हुनेछ। तर भाग्यवश, काव्य क्षेत्रमा शक्ति पृथकीकरणको मान्यता बलवान् छ। एउटै पात्र सौन्दर्य चिन्तक, कवि र समालोचक बनेर काव्यक्षेत्रमा मनपरी गर्ने उहिलेका कुरा उहिल्यै खुइलिएर गइसके। र, श्रीरामजी स्वयम् प्रतिस्पर्धाको डबलीमा सविनय हाजिर छ।
सत्य हो, हालको न्यायप्रणाणी अन्तर्गतका हाम्रा न्यायालय साँचो अर्थमा अन्यायालय हुन्। यी अन्यायालमा न्याय पैसामा बेचिन्छ, पैसाले किनिन्छ। यिनमा पहुँच, डाको र धाकधक्कुको प्रभाव जम्छ। यिनमा शक्तिकेन्द्रको स्वार्थी इसाराले सदैव काम गर्छ। ढिलासुस्ती, आलटाल र भ्रष्टाचार यिनका सनातन धर्म हुन्। यिनमा सामन्ती चिन्तन, संस्कृति र शैलीको महमारी व्याप्त छ। यी अन्यायालय यथास्थितिका पोषक र परिवर्तनका बाधकका रूपमा इतिहासको बाटोमा तेर्सिएका छन्। त्यसैले निमुखा गरिबगुरुवा शोषणमाथि थप शोषण र अन्यायमाथि थप अन्याय थोपरिने डरले न्याय माग्न अन्यायालय जान डराउँछन्। तिनलाई लाग्छ, शोषक-शासकका लागि यी न्यायालय हुन्, आफ्नालागि अन्यायालय। तर, यी यावत् रोगको उपयुक्त उपचार न्यायप्रणालीमाथि संसद्को आधिपत्य किमार्थ होइन। संविधान बनाउनु त संसद्को अनिवार्य काम भइनै हाल्यो। स्पष्ट र पारदर्शी मापदण्ड एवं छनोटविधिका आधारमा योग्यता र दक्षतालाई ध्यानमा राखेर संसद्ले न्यायाधीश नियुक्त गर्न पनि सक्ला। तर, आफैँ कविताको रचनाकार र आफै” सो कविताको व्याख्याकार श्रीरामजीले झैँ संसद्ले संविधानको व्याख्या गर्न थाले न्यायप्रणालीको हबिगत के होला? व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको लोकतान्त्रिक नातामा त्यो केजाती ‘चेक एन्ड ब्यालेन्स’ भन्छन् नि, के त्यसको केही अर्थ छैन?
आयो कुरा अब झन्डा परिवर्तनको। झन्डा फेर्ने आग्रहका पैरवीकर्ता भन्छन् – हाम्रो राष्ट्रिय झन्डामा सूर्यवंशी राजाको सूर्यछाप र चन्द्रवंशी राजाको चन्द्रछाप टा”सिएका छन्। त्यसैले यसमा सढाउ राजतन्त्रको इतिहास र संस्कृति ह्वास्सै गन्हाउँछ। तसर्थ संघीय गणतन्त्र नेपालको झन्डा संघलाई चिनाउने बहुल प्रतीकले चिरिच्याँट्ट सजिएको हुनुपर्छ। यो जिरहले मलाई आफ्नो एउटा पुरानो पुन्टे कथाको याद दिलायो। कथाको शीर्षक छ – टुप्पीको क्रान्तियात्रा। अहिले भन्छु, घर्ती गुरु मोहनविक्रम सिंहलाई पार्श्वदृश्यमा राखेर मैले यो कथा लेखेको थिएँ। क्रान्तिकारी शुद्धताको रक्षाका नाउँमा मोहनविक्रम सिंहले अनेक पटक पार्टी फुटाए। मोहनविक्रम सिंहको वैचारिक र आचारगत अशुद्धताका कुरा उठाएर उनका निकटतम अनुयायीले अनेक पटक उनको पार्टी भत्काए। आफूले वा अरूले जुनसुकै कारणले पार्टी फोर्दा पनि मोहनविक्रम सिंह पार्टीमा क्रान्तिकारी शुद्धताको रक्षा नै भएको छ भनेर मखलेल भइरहे। र, यो अबोधगम्य र अमूर्त्तझैँ लाग्ने वैष्णवी शुद्धताको आग्रहलाई मैले कथामा उतार्न जमर्को गरेँ। यो पुन्टे कथा भन्छ – एक दिन एकजना कम्युनिस्ट क्रान्तिकारी नेताको मस्तिष्कमा शुद्धताको चेतको देदीप्यमान मसाल ह्वार्ह्वारी बल्नथाल्यो। उसले आफ्ना खुट्टा हेर्‍यो, खुट्टाले सामन्तले टेकेको जमिन टेकेको देख्यो। र, आफ्ना अपवित्र खुट्टा ठुन्क्यायो। उसले घु”डा हेर्‍यो, ठेस लागेर लड्दा आफ्ना घुँडाले प्रतिक्रियावादीले घुँडा टेकेको जमिन टेकेको चेत पायो। र, आफ्ना अपवित्र घुँडा पनि उसले गिँड्यो। भुँडी हेर्‍यो, भुँडीमा विस्तारवादीले छोएको अन्नपानी परेको उसलाई ज्ञात भयो। र, काटेर उसले भुँडी पनि मिल्कायो। फोक्सो हेर्‍यो, फोक्सोले साम्राज्यवादीले सास फेरेको अस्वच्छ हावा ग्रहण गरेको उसले चाल पायो। र, उसले फोक्सो पनि कटनी गर्‍यो। क्रान्तिकारीको ठुन्किएको गर्धनमाथि बाँकी रह्यो अब एउटा दिमाग। आफ्नो दिमागका केस्राकेस्राको प्रकृति गौर गरेर नियाल्दा अति शुद्धतावादी गुरुजीलाई लाग्यो, गलत विचार र संस्कारले गाँजेर आफ्नो दिमाग पूरापूर भ्रष्ट भएको छ। र, उसले आफ्नो दिमाग पनि काटेर हुत्यायो। शरीरका सबै अङ्ग कलमी गरिसकेपछि बाँकी रह्यो अब केवल एउटा टुप्पी। बस्, क्रान्तिकारीको सबै विकारबाट मुक्त सम्पूर्ण र परम् शुद्ध टुप्पी लिखिरलिखिर-लिखिरलिखिर हल्लिँदै क्रान्तियात्रामा जोडतोडले गतिवान् भयो।

प्रसंगवश, यो झन्डा फेर्ने आग्रहमा मलाई टुप्पीपथका उनै गुरुजीको निरपेक्ष शुद्धताको आग्रहको औतार प्रकट भएझैँ लाग्छ। के सूर्यवंशी र चन्द्रवंशी राजाका सिंहासन एउटै भूमिमा, एकै समयमा अस्तित्वमा थिए र एउटै झन्डामा दुबैका वंशलाई जनाउने सूर्य-चन्द्र अंकित भए? झन्डाका राजतन्त्रले बिटुल्याएका निसानाछाप सूर्य-चन्द्र त हामी मासौँला रे लौ, नील गगनको अथाह उचाइमा रहेर हामीलाई प्रकाश र ताप दिने हाम्रा जीवनस्रोत र सौर्यमण्डलका आभूषणरूपी सूर्य-चन्द्रलाई हामीले के गर्ने होला? ती त्यहाँ रहिरहनु र झन्डाबाटचाहिँ ती मेटिनुको अर्थ के?

कुनै पनि युगान्तकारी परिवर्तनपछि परम्परादेखि चलिआएका सबै प्रतीकलाई अन्धाधुन्ध परित्याग वा निषेध गरिँदैन। जे प्रदूषित छ, जेको उपयोगिता निखारिएको छ वा जे हानिकारक छ, त्यसलाई मात्र परित्याग गरिन्छ। अनेक प्रतीक यस्ता हुन्छन्, जसको परिभाषा वा अर्थको विनिर्माण वा पुनःव्याख्या गरिन्छ। राजाका पाउभक्तहरू हिजो राष्ट्रिय झन्डाका सूर्य-चन्द्र देखाएर सिंहासनमा शाहवंशको आयु यिनै सूर्य-चन्द्रकै जति छ भनी धाक लगाउँथे। शाही राजतन्त्रको सिंहासन मर्‍यो, सूर्य-चन्द्र जीवितै छन्। र, अहिले ती पाउभक्तको मूर्खतापूर्ण धाकलाई उपहास गर्दै झन्डाका सूर्य-चन्द्र मुस्कुराइरहेका छन्। अब हामी सूर्य-चन्द्र अस्तित्ववान् रहुन्जेल एकताबद्ध र अखण्ड नेपाल रहिरहने छ भनी झन्डाबासी सूर्य-चन्द्रको अर्थ लगाउन सक्छौँ। सूर्य र चन्द्र मधेस-तराईवासीका होइनन् कि, पहाडवासीका होइनन् कि हिमालवासीका होइनन्? हिन्दु, इसाई, मुस्लिम, प्राकृत कुन धर्मावलम्बीका होइनन् सूर्य-चन्द्र? सूर्य-चन्द्रसँग कुन नेपालीको विराग र वैमनस्य छ? र, कुन नेपालीका लागि प्रिय र अनिवार्य छैनन् सूर्य-चन्द्र?

उसो त सूर्य-चन्द्र अंकित हाम्रो राष्ट्रिय झन्डा रंग संयोजन र बान्कीका दृष्टिले पनि विश्वमै विलक्षण छ। बान्कीको विशिष्टताका कारण विश्वका झन्डाहरूको भीडमा यो सजिलै देखिन्छ, सहजै चिनिन्छ। कुरा यत्ति हो, अन्तका विशालकाय झन्डा सामु यो अलि फुच्चे लाग्छ। समय-सालमा यसको आकार बढाऔँला। यो कत्रो कुरो हो र? फेर्ने रहर र सामर्थ्य भए गणतन्त्र नेपालमा फेर्नैपर्ने चीज जति पनि छन्। सहिद गेटमा चार अमर सहिदका टाउका टेकाएर तिनको मृत्युदण्डको लिखतलाई सदर गर्ने राजा त्रिभुवनलाई सजाइएको छ। फेर्न बहस चलाउनुपर्ने र फेर्नैपर्ने कुरा त यस्ता पो हुन्। फेर्नै नपर्ने झन्डा फेर्ने बित्थाको कचिंगल सुरु गरेर टुप्पीको कथाको स्मरण किन गराउनु?

Advertisements

0 Responses to “सूर्य-चन्द्र अंकित-हाम्रो राष्ट्रिय झन्डा”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s




OM MANE PEME HUM

omaane

Syangboche Weather

Click for Syangboche, Nepal Forecast

Blog Stats

  • 16,035 hits

my photos

boulder

Nepali Headline news!!!

Advertisements

%d bloggers like this: